Menu

२ राजाहरू 10

ULB

1 सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए,

2 “तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै,

3 तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्‍ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर ।”

4 तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ ?”

5 तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस् ।”

6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।

7 त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।

8 एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्‍यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू ।”

9 बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे ?

10 अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”

11 त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।

12 तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,

13 तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”

14 येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।

15 येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, “मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ ?” यहोनादाबले जवाफ दिए, “हजुर छ।” येहूले भने, “छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे ।

16 येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे ।

17 जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।

18 तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।

19 त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।

20 येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।

21 तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो ।

22 येहूले पुजारीको वस्‍त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्‍त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्‍त्रहरू ल्याए ।

23 रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ ।”

24 तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने ,“मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”

25 तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।

26 तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।

27 त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्‍यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् ।

28 यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्‍ट पारे ।

29 तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए, अर्थात् बेथेल र दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन् ।

30 त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।”

31 तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्‍वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।

32 ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे,

33 यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्‍यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्‍जा गरे ।

34 येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

35 येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।

36 येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।

Everything we make is available for free because of a generous community of supporters.

Donate