Menu

१ राजाहरू 21

ULB

1 यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो ।

2 आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।”

3 नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।”

4 त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे ।

5 तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर भनिन्, “खानै नखाने गरी तपाईं किन यति धेरै उदास हुनुभएको छ ?”

6 तिनले उनलाई जवाफ दिए, “मैले यिजरेली नाबोतलाई भनेँ, 'तिम्रो दाखबारी मलाई बेच वा तिमीलाई इच्छा लागे म तिमीलाई अर्को अझै राम्रो दाखबारी दिने छु ।' तब तिनले मलाई जवाफ दिए, 'म तिमीलाई मेरो दाखबारी दिन्नँ' ।”

7 त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र ? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।”

8 त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् ।

9 उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ ।

10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार ।

11 त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे ।

12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए ।

13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे ।

14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”

15 जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।”

16 नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे ।

17 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,

18 “उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ ।

19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस् ?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”

20 आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस् ?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु ।

21 परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।

22 म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

23 परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'

24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”

25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् ।

26 आहाबले परमप्रभुले इस्राएलीहरूको सामुबाट हटाउनुभएका मूर्तिहरूलाई पछ्याई एमोरीहरूले गरेजस्तै घृणित कामहरू गरे ।

27 जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए ।

28 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,

29 “के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस् ? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले म आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ । म त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate