Menu

१ कोरिन्थी 9

ULB

1 के म स्वतन्‍त्र छैनँ ? के म प्रेरित होइनँ ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र ?

2 म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ ।

3 यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः

4 के हामीलाई खाने र पिउने अधिकार छैन ?

5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन ?

6 अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ?

7 कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र ? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ?

8 के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ? के व्यवस्थाले पनि यसै गर भन्दैन र ?

9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ ?

10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।

11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र ?

12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र ? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ ।

13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र ?

14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।

15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु ।

16 मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ ।

17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।

18 त्यसो भए मेरो इनाम के हो ? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।

19 किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ ।

20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ ।

21 म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।

22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।

23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ ।

24 दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ? त्यसैले, पुरस्कार पाउने गरी दौड ।

25 एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ ।

26 त्यसैले, म बिनाउदेश्य वा हावामा दौडन्‍नँ ।

27 तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate