Menu

सपन्याह 1

NCB

1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो: 2 “म पृथ्वीको सतहबाट सबै थोक नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 3 “म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु; म आकाशका पक्षीहरू र समुद्रका माछाहरूलाई नाश गर्नेछु। दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।” “अनि म सबै मानव-जातिलाई पृथ्वीको सतहबाट मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 4 “म यहूदाको विरुद्धमा र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई, र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु; 5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू, दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू र मोलेख देवताको नाममा पनि शपथ खानेहरू, 6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू; अनि याहवेहको खोजी नगर्नेहरू, र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।" 7 प्रभु याहवेहको सामु चुपचाप बस; किनकि याहवेहको दिन नजिकै छ। याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ; अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ। 8 “याहवेहको बलिदानको दिन, म अगुवाहरू र राजाका छोराहरू; अनि विदेशी कपडा लगाउनेहरू सबैलाई दण्ड दिनेछु। 9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, आफ्ना देवताहरूका मन्दिरलाई हिंसा र छलले भर्नेहरू सबैलाई म दण्ड दिनेछु। 10 “त्यस दिन” याहवेह भन्‍नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ। 11 तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर; तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्। 12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू, जो मद्यका थिग्राजस्तै छन्, जसले, ‘याहवेहले न असल, न त खराब नै गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु। 13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, तिनीहरूका घरहरू भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन्, तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्; तिनीहरूले दाखबारी लगाउनेछन्, तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।" 14 याहवेहको महान् दिन नजिकै छ— त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्। 15 त्यो दिन क्रोधको दिन हुनेछ— सङ्कष्‍ट र वेदनाको दिन, कष्‍ट र सर्वनाशको दिन, अन्धकार र निराशाको दिन, बादल र घोर अन्धकारको दिन। 16 सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा तुरही र लडाइँको आवाज सुनिने दिन। 17 “म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु, कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्; किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्। 18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा, न त तिनीहरूका सुनले, न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।” उहाँको डाहको आगोमा सारा संसार भस्म पारिनेछ; किनकि यस पृथ्वीमा बसोबास गर्ने सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate