Menu

श्रेष्‍ठगीत 6

NCB

1 हे नारीहरूमा परमसुन्दरी, तिम्रा प्रिय कहाँ गएका छन्? तिनी कुन बाटोतिर गएका छन्, हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ? 2 मेरा प्रिय आफ्नो बगैँचामा, मसलाहरूको ड्याङहरूमा, त्यहाँ टहल्न र लिली फूल टिप्नलाई जानुभएको छ। 3 म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ। 4 मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी, र यरूशलेमजस्तै राम्री छ्यौ; आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ। 5 तिम्रा आँखाहरू मबाट हटाऊ; तिनले मलाई व्याकुल पार्दछन्, तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका बाख्राहरूको बगालसरह छन्। 6 तिम्रा दाँतहरू नुहाएर उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। हरेकका जुम्ल्याहा छन्, कुनै पनि एकलो छैन। 7 घुम्टोभित्र लुकेका तिम्रा दुई गाला दुई फ्याक पारेका अनारझैँ छन्। 8 चाहे साठी वटा रानीहरू होऊन्, चाहे असीवटा उपपत्नीहरू, चाहे अनगन्ती कन्ये केटीहरू होऊन्; 9 तर मेरी ढुकुर, मेरी सर्वश्रेष्‍ठ, तिनी विशेष छिन्; तिनकी आमाकी एउटी मात्र, मनपर्दो सन्तान हुन्। कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने; रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे। 10 चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, झण्डा फहराउने प्रतापी सेनाझैँ, प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्? 11 बदामका बोटहरू भएका बेँसीतिर नयाँ पालुवा लागे कि, दाखको बोटमा कोपिला लागेको छ कि छैन, वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ। 12 मैले थाहा पाउनुअगि मेरा प्रजाका राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्‍याइसकेको छ। 13 हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, र हामी तिमीलाई एक टक लगाएर हेरिरहन सकौँ! प्रेमी महानोमको नाच हेरेझैँ किन तिमीहरू शूलम्मीलाई एक टक लगाएर हेर्न रहर गर्छौ?

Everything we make is available for free because of a generous community of supporters.

Donate