भजनसंग्रह 94
NCB1 हे याहवेह, बदला लिनुहुने परमेश्वर, हे बदला लिनुहुने परमेश्वर, चम्कनुहोस्! 2 हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्; अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्! 3 हे याहवेह, कहिलेसम्म दुष्टहरू, आखिर कहिलेसम्म दुष्टहरू उल्लासित भइरहून्? 4 तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्; सबै कुकर्मीहरू घमण्डले भरिएका छन्। 5 हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्; तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्। 6 तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्; अनाथहरूलाई हत्या गर्दछन्। 7 तिनीहरू भन्छन्, “याहवेहले देख्नुहुन्न; याकोबका परमेश्वरले चाल पाउनुहुन्न।" 8 मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर, ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ? 9 जसले कान दिनुभयो के उहाँले सुन्नुहुन्न र? जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्न र? 10 के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्न र? के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र? 11 याहवेहले मानिसका सबै योजनाहरू जान्नुहुन्छ; ती व्यर्थ हुन्, भनी उहाँ जान्नुहुन्छ। 12 हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ, जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ; 13 दुष्टहरूका निम्ति खाडल नखनिएसम्म तपाईंले त्यसलाई कष्टका दिनमा आराम दिनुहुनेछ, 14 किनकि याहवेहले आफ्ना प्रजालाई तिरस्कार गर्नुहुनेछैन। उहाँले आफ्ना उत्तराधिकारीहरूलाई त्याग्नुहुनेछैन। 15 न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ, र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्। 16 दुष्टहरूका विरुद्धमा मसँग को उठ्नेछ? कुकर्मीहरूका विरुद्ध मेरो पक्षमा को खडा हुनेछ? 17 याहवेहले मलाई सहायता नगर्नुभएको भए, म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ। 18 जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ” तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो। 19 जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो। 20 के भ्रष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्? 21 तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्, र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्। 22 तर याहवेह मेरो किल्ला हुनुभएको छ, र परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। 23 उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ; याहवेह हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।
