Menu

भजनसंग्रह 90

NCB

1 हे प्रभु, पुस्तौँ-पुस्तादेखि तपाईं हाम्रा वासस्थान हुनुभएको छ। 2 पहाडहरू उत्पन्‍न हुनुभन्दा अगि, अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि, अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्‍वर हुनुहुन्छ। 3 तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ, “ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!" 4 तपाईंको दृष्‍टिमा एक हजार वर्ष अहिले बितिगएको एक दिनजस्तै, अथवा रातको एक पहरजस्तै छ। 5 तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ— तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्: 6 त्यो बिहान नयाँ भएर मौलाउँछ; तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ। 7 तपाईंको क्रोधले हामी नष्‍ट भएका छौँ, र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ। 8 तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्। 9 हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्; हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ। 10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, अथवा बलले साथ दियो भने, असीसम्म; तापनि त्यसको उत्तम अवधि पनि कष्‍ट र शोकमा बित्छ; किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ। 11 तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ। 12 हामीलाई हाम्रा दिनहरू गन्‍न सिकाउनुहोस्, ताकि हामीले बुद्धिको हृदय प्राप्‍त गर्न सकौँ! 13 हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ? आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्! 14 हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्, र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ। 15 जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ, त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्! 16 तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्, तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्! 17 प्रभु हाम्रा परमेश्‍वरको निगाह हामीमाथि रहोस्; हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्— हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!

Everything we make is available for free because of a generous community of supporters.

Donate