भजनसंग्रह 85
NCB1 हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ। 2 तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला 3 तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो; र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो। 4 हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्! 5 के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ? 6 के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्? 7 हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्! 8 याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्। 9 निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्। 10 अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्। 11 पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ। 12 जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ। 13 धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।
