भजनसंग्रह 83
NCB1 हे परमेश्वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्वर, आफ्नो कान नथुन्नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्! 2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्। 3 तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्; तिनीहरू तपाईंले अनमोल ठान्नुभएकाहरूको विरुद्धमा मतो गर्छन्। 4 तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ; ताकि इस्राएल भन्ने नामको सम्झना नै नरहोस्!" 5 तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्— 6 एदोमीहरू र इश्माएलीहरूका पालहरू, मोआबीहरू र हग्रीहरू, 7 गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू। 8 लोतका सन्तानलाई सशक्त पार्न, अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला 9 मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्, 10 जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए। 11 तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्नाजस्तै बनाउनुहोस्; 12 जसले भने, “हामी परमेश्वरका खर्कलाई कब्जा गरौँ।" 13 हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ, बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्! 14 जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ, 15 त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्! 16 तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह, तिनीहरूले तपाईंको नामको खोजी गरून्। 17 तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्; तिनीहरू अपमानमा नष्ट होऊन्। 18 तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो— तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च परमेश्वर हुनुहुन्छ।
