भजनसंग्रह 8
NCB1 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ। 2 तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ। 3 जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु, 4 मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ? 5 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ। 6 तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ: 7 सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू, 8 आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू। 9 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
