Menu

भजनसंग्रह 72

NCB

1 हे परमेश्‍वर, राजालाई तपाईंको न्याय, र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्। 2 राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्। 3 पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्; पहाडहरूले धार्मिकताका फल ल्याऊन्। 4 उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्, र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्; उहाँले अत्याचारीहरूलाई नाश गरून्। 5 जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ, सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्। 6 तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै, र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्। 7 राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्, र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्। 8 राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्। 9 राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्, र उनका शत्रुहरूले धुलो चाटून्। 10 तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले उनलाई सलामी ल्याऊन्; शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाऊन्। 11 सबै राजाहरू उनको अगाडि निहुरिऊन्; र सबै राष्ट्रहरूले उनको सेवा गरून्। 12 किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन। 13 दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्, र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्। 14 उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्; किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्य छ। 15 तिनी दीर्घायु होऊन्! तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्। तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्, र दिनभरि नै तिनलाई आशिष् देऊन्। 16 देशभरि नै प्रशस्त अन्‍न होस्; पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्। तिनको बाली लेबनानझैँ फस्टाओस्; र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्। 17 तिनको नाम सदासर्वदा रहिरहोस्; सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्। तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; र तिनलाई धन्यका भन्‍नेछन्। 18 इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ। 19 उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्; उहाँको महिमाले सारा पृथ्वी भरियोस्। आमेन! आमेन! 20 यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate