भजनसंग्रह 65
NCB1 हे हाम्रा परमेश्वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ; तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ। 2 तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्वर हुनुहुन्छ। तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्। 3 जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो। 4 धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्नुहुन्छ, र तपाईंको मन्दिरको आँगनमा बस्नलाई आफू नजिक ल्याउनुहुन्छ! तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ। 5 तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ; हे हाम्रा उद्धारकर्ता परमेश्वर, पृथ्वीको छेउसम्मका समस्त मानिसहरू र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ, 6 तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ। 7 जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन, र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ। 8 तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्क पर्छन्; जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ, तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ। 9 तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ; तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ। मानिसहरूलाई अन्नबाली जुटाउनलाई, परमेश्वरका नदीहरू पानीले भरिएका छन्; किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ। 10 तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ; तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ, र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ। 11 तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ र तपाईंको प्रशस्त आशिष्को अन्नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्। 12 मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्; डाँडाहरू हर्षले सुसज्जित छन्। 13 हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्; र बेँसीहरू बालीले ढाकिएका छन्; तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।
