Menu

भजनसंग्रह 52

NCB

1 हे वीर मानिस, तँ किन आफ्ना दुष्‍ट काममा गर्व गर्छस्? किन सारा दिन घमण्ड गर्छस्, तँ, जो परमेश्‍वरको दृष्‍टिमा घृणित छस्? 2 तँ छली कुरा गर्छस्, तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ; यो धारिलो छुरीजस्तै छ। 3 तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्; सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्। 4 ए छली जिब्रो! तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ। 5 निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ: उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ; उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ। 6 धर्मी जनहरू त्यो देखेर भय मान्‍नेछन्। तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्, 7 “यो त्यही मानिस हो, जसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो, र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!" 8 तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको हरियो जैतुनको रूखजस्तो छु; म परमेश्‍वरको अचुक प्रेममा सदासर्वदा भरोसा गर्दछु। 9 तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा सधैँ म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म आशा राख्नेछु; किनकि तपाईंको नाम असल छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate