भजनसंग्रह 140
NCB1 हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्; 2 जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्चाउँछन्। 3 तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला 4 हे याहवेह, दुष्टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्। 5 अहङ्कारी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्; तिनीहरूले आफ्ना जाल बिछाएका छन्; र मेरो निम्ति बाटोमा धराप थापेका छन्। सेला 6 म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्! 7 हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ। 8 हे याहवेह, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्; तिनीहरूका योजनाहरू सफल हुन नदिनुहोस्। सेला 9 जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्टता तिनीहरूमाथि नै आइपरोस्! 10 झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्! 11 निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्, हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्! 12 म जान्दछु, याहवेहले सताइएहरूका पक्षमा न्याय दिनुहुन्छ; र खाँचोमा परेकाहरूलाई न्यायको समर्थन गर्नुहुन्छ। 13 निश्चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
