भजनसंग्रह 11
NCB1 याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ, 2 किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्। 3 जब जगहरू नै नष्ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?" 4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। 5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्टहरू, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ। 6 दुष्टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ। 7 किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
