Menu

भजनसंग्रह 105

NCB

1 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर! 2 उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको गीत गाओ; उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर! 3 उहाँको पवित्र नाममा गौरव गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्! 4 याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर! 5 हे याहवेहका सेवक, हे अब्राहामका वंश हो, हे उहाँबाट चुनिएका याकोबका सन्तानहरू हो, उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूका स्मरण गर, उहाँका अचम्मका कामहरू र उहाँले गर्नुभएका फैसलाको सम्झना गर! 7 उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ। 8 परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो, 9 त्यो करार जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो, त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो। 10 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो: 11 “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।" 12 जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशी थिए, 13 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, एउटा राज्यबाट अर्को राज्यमा भौँतारिँदै हिँड्थे। 14 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो: 15 “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!" 16 उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्‍ट गरिदिनुभयो; 17 उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए। 18 तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए, 19 उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे। 20 राजाले मानिस पठाएर तिनलाई छुटाए; जनताका शासकले तिनलाई मुक्त गरे। 21 राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए। 22 तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्, र आफ्ना प्रधानहरूलाई ज्ञानका कुरा सिकाऊन् भनी खटाए। 23 त्यसपछि इस्राएल इजिप्टमा आए; याकोब हामको देशमा प्रवासी भएर बसे। 24 याहवेहले आफ्ना प्रजालाई अत्यन्त फलवन्त बनाउनुभयो; तिनीहरूका शत्रुहरूभन्दा तिनीहरूको संख्या अनगन्ती बनाउनुभयो। 25 परमेश्‍वरले इजिप्टियनहरूका हृदयलाई उहाँका जनहरूलाई घृणा गर्ने बनाउनुभयो; ताकि आफ्ना सेवकहरूका विरुद्धमा षड्यन्त्र रचून्। 26 उहाँले आफ्ना सेवक मोशालाई, र आफूले चुन्‍नुभएका हारूनलाई तिनीहरूकहाँ पठाउनुभयो। 27 तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू, हामका देशमा उहाँका अद्‌भुत कार्यहरू देखाए। 28 उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो— किनकि तिनीहरूले उहाँको आदेशहरूको विरोध गरेका थिए। 29 उहाँले तिनीहरूका पानीलाई रगतमा परिवर्तन गर्नुभयो, जसले गर्दा तिनीहरूका माछाहरू मरे। 30 तिनीहरूको देश भ्यागुताहरूले भरियो, ती तिनीहरूका शासकहरूका शयनकक्षसम्मै पुगे। 31 उहाँले आदेश दिनुभयो र त्यहाँ झिँगाको बथान ओइरियो, र तिनीहरूको सारा देश भुसुनाहरूले भरियो। 32 उहाँले पानीको साटो असिना बर्साउनुभयो, र उनीहरूको देशभरि चट्याङ पठाउनुभयो; 33 उहाँले तिनीहरूका अङ्‌गुर र नेभाराका रूखहरू ध्वस्त पार्नुभयो, र तिनीहरूका देशका रूखहरू ढालिदिनुभयो। 34 उहाँले आज्ञा गर्नुभयो, र सलहहरू आए, असंख्य फट्याङ्ग्राहरू आए; 35 तिनीहरूले त्यस देशका हरेक वनस्पति खाइदिए, तिनीहरूको भूमिको उब्जनीहरू सखाप पारिदिए। 36 तब उहाँले त्यस देशका सबै पहिले जन्मेकाहरूलाई, तिनीहरूका पुरुषार्थका पहिलो फलहरूलाई नाश पार्नुभयो। 37 उहाँले इस्राएललाई सुन र चाँदीले भरिपूर्ण पारि निकालेर ल्याउनुभयो; र तिनीहरूका कुलबाट कसैले पनि ठक्‍कर खाएनन्। 38 तिनीहरू निस्केर जाँदा इजिप्ट रमायो; किनकि इस्राएलको डर तिनीहरूमाथि परेको थियो। 39 उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो, र रातमा उज्यालो दिनलाई आगो दिनुभयो। 40 तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो; स्वर्गका रोटीले तिनीहरूलाई तृप्‍त पार्नुभयो। 41 उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो। 42 किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो। 43 उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्‍लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो; 44 उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो; र अरूले गरेको परिश्रमको फलमा तिनीहरूले आफ्नो अधिकार गरे— 45 तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए। याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate