भजनसंग्रह 103
NCB1 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्; ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्! 2 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— 3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ; र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ; 4 जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ; 5 जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्। 6 थिचोमिचोमा परेकाहरू सबैका निम्ति याहवेहले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। 7 उहाँले आफ्नो मार्ग मोशालाई, आफ्नो काम इस्राएलीहरूलाई प्रकट गर्नुभयो: 8 याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण। 9 उहाँले सधैँ दोष लगाइरहनुहुन्न, न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ; 10 उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न, न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ। 11 किनकि पृथ्वीबाट स्वर्ग जति उच्च छ, उहाँका डर मान्नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ। 12 पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ। 13 जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्नेहरूलाई टिठ्याउनुभएको छ; 14 किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ। 15 मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्क फुल्दछ; 16 अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। 17 तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— 18 तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्। 19 याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ; र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। 20 हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो, उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो, याहवेहको प्रशंसा गर! 21 हे उहाँका सारा स्वर्गीय सेनाहरू हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो, याहवेहको प्रशंसा गर। 22 हे याहवेहका सारा सृष्टि हो, उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
