Menu

हितोपदेश 22

NCB

1 धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्‍त गर्नु चाँदी र सुनभन्दा असल हो। 2 धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो। 3 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ। 4 धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्। 5 दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ। 6 बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन। 7 धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। 8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ। 9 दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ। 10 गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ। 11 जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, उसका लागि राजा पनि मित्र हुनेछ। 12 याहवेहको दृष्‍टिले ज्ञानको रक्षा गर्छ, तर विश्‍वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ। 13 अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।" 14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्। 15 बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ। 16 आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ। 17 बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ! 18 किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ। 19 तिम्रो भरोसा याहवेहमाथि होस् भनेर यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई। 20 के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र? 21 आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र? 22 असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल; 23 किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ। 24 रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर, 25 नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ। 26 बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस; 27 यदि तिमीसित तिर्ने साधन छैन भने, तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ। 28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्। 29 के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्‍लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate