हितोपदेश 2
NCB1 हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने, 2 आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने, 3 साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने, 4 र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्यौ भने, अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने, 5 तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।" 6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। 7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, 8 किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ। 9 तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ। 10 किनकि बुद्धि तिम्रो हृदयमा पस्नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ। 11 विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ। 12 बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग, र भ्रष्ट कुरा गर्ने मानिसबाट जोगाउनेछ, 13 जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्, 14 जो खराबी गर्नमा रमाउँछन्, र दुष्टहरूका भ्रष्टतामा आनन्दित हुन्छन्, 15 जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्। 16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, 17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे। 18 निश्चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्। 19 त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्त गर्छ। 20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ। 21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, 22 तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।
