Menu

हितोपदेश 15

NCB

1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ। 2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ। 3 याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ। 4 निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ। 5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। 6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ। 7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन। 8 दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ। 9 याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। 10 आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ। 11 मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला! 12 गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्‌लाई तिरस्कार गर्छन्। 13 हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ। 14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो। 15 थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; तर प्रसन्‍न हृदय सधैँ सुखी हुन्छ। 16 धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो। 17 घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो। 18 तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ। 19 अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो। 20 बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ। 21 विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ। 22 सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्। 23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ! 24 समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ। 25 याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ। 26 याहवेह दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ। 27 लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ। 28 धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ। 29 याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्छ। 30 हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ। 31 जसले जीवन दिने हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्‌हरूका साथमा रहनेछ। 32 अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्‍त गर्छ। 33 याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate