Menu

हितोपदेश 10

NCB

1 सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्। 2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। 3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ। 4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्। 5 ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्। 6 धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ। 7 धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ। 8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ। 9 इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ। 10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ। 11 धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ। 12 घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ। 13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ। 14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ। 15 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो। 16 धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो। 17 अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ। 18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो। 19 जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ। 20 धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन। 21 धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्। 22 याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न। 23 मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ। 24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ। 25 आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्। 26 दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्। 27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ, 28 धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन। 29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो। 30 धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन। 31 धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ। 32 धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate