Menu

गन्ती 34

NCB

1 याहवेहले मोशालाई भन्‍नुभयो, 2 “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ: 3 " ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर, 4 अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ, 5 जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ। 6 तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ। 7 तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ, 8 र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ, 9 र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ। 10 तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ। 11 त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ। 12 त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। " ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ “ 13 मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ। 14 किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्। 15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।" 16 याहवेहले मोशालाई भन्‍नुभयो, 17 “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू। 18 अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू। 19 “ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब; 20 शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल; 21 बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद; 22 दानको कुलबाट योग्लीका छोरा बुक्‍की अगुवा थिए; 23 योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्‍नीएल अगुवा थिए; 24 योसेफका छोरा एफ्राइमको कुलबाट शिप्‍तानका छोरा कमूएल अगुवा थिए; 25 जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए; 26 इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए; 27 आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए; 28 नप्‍तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।" 29 याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate