Menu

गन्ती 26

NCB

1 विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो, 2 “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।" 3 यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने, 4 “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।” इजिप्टबाट निस्केर आएका इस्राएलीहरू यिनीहरू नै थिए: 5 इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्‍लूबाट पल्‍लूईहरूको वंश; 6 हेस्रोनबाट हेस्रोनीहरूको वंश; कर्मीबाट कर्मीहरूको वंश; 7 यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो। 8 पल्‍लूका छोरा एलिआब थिए। 9 अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए। 10 तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो। 11 तरै पनि कोरहको पूरै वंशचाहिँ लोप भएर गएन। 12 शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: नमूएलबाट नमूएलीको वंश; यामीनबाट यामीनीको वंश; याकीनबाट याकीनीको वंश; 13 जेरहबाट जेरहीको वंश; शाऊलबाट शाऊलीहरूको वंश। 14 शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो। 15 गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश; 16 ओज्नीबाट ओज्नीहरूको वंश; एरीबाट एरीहरूको वंश; 17 अरोदीबाट अरोदीहरूको वंश; अरेलीबाट अरेलीहरूको वंश। 18 गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो। 19 एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे। 20 यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शेलहबाट शेलानीहरूको वंश; पेरेसबाट पेरेसीहरूको वंश; जेरहबाट जेरहीहरूको वंश। 21 पेरेसका सन्तानहरू यिनै हुन्: हेस्रोनबाट, हेस्रोनीहरूको वंश; हामूलबाट, हामूलीहरूको वंश। 22 यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो। 23 इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: तोलाबाट तोलाहीहरूको वंश; पुवाहबाट पुवातीहरूको वंश। 24 याशूबबाट याशूबीहरूको वंश; शिम्रोनबाट शिम्रोनीहरूको वंश। 25 इस्साखारका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 64,300 थियो। 26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश। 27 जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो। 28 योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्: 29 मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश। 30 गिलादका सन्तानहरू यिनै थिए: ईएजेरबाट ईएजेरीहरूको वंश; हेलेकबाट हेलेकीहरूको वंश। 31 अस्रीएलबाट अस्रीएलीहरूको वंश; शेकेमबाट शेकेमीहरूको वंश। 32 शमीदाबाट शमीदीहरूको वंश; हेपेरबाट हेपेरीहरूको वंश। 33 (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।) 34 मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो। 35 एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूतेलहबाट शूतेलहीहरूको वंश; बेकेरबाट बेकेरीहरूको वंश; तहनबाट तहनीहरूको वंश। 36 शूतेलहका सन्तानहरू यिनै थिए: एरानबाट एरेनीहरूको वंश। 37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए। 38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश। 39 शूपामबाट शू्पामीहरूको वंश; हूफामबाट हूफामीहरूको वंश। 40 आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: अर्दबाट अर्दीहरूको वंश; नामानबाट नामानीहरूको वंश। 41 बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो। 42 दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश, दानका वंशहरू यिनै थिए: 43 तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो। 44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्‍वीबाट यिश्‍वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश; 45 अनि बेरियाहका सन्तानहरूबाट: हेबेरबाट हेबेरीहरूको वंश; मल्कीएलबाट मल्कीएलीहरूको वंश। 46 आशेरकी सेरह नाम भएकी एउटी छोरी थिइन्। 47 आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो। 48 नप्‍तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यहसेलबाट यहसेलीहरूको वंश; गुनीबाट गुनीहरूको वंश। 49 येसेरबाट येसेरीहरूको वंश; शिल्‍लेमबाट शिल्‍लेमीहरूको वंश। 50 नप्‍तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो। 51 इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो। 52 याहवेहले मोशालाई भन्‍नुभयो, 53 “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू। 54 ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्। 55 जमिन निश्‍चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ। 56 हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।" 57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश। 58 यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए, 59 अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्। 60 हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए। 61 तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।) 62 एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्। 63 मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्। 64 यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्। 65 किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate