नहेम्याह 11
NCB1 अब मानिसहरूका अगुवाहरूचाहिँ यरूशलेममा बसोबास गरे। बाँकी रहेका मानिसहरूले पवित्र सहर यरूशलेममा दश जनामध्ये एक जना बास बस्ने र बाँकी रहेका नौ जनाचाहिँ तिनीहरूका आफ्नै सहरहरूमा बास बस्ने विषयमा चिट्ठा हाले। 2 यरूशलेममा बास बस्न इच्छा गर्नेहरू सबैलाई मानिसहरूले प्रशंसा गरे। 3 यिनीहरू प्रदेशका अगुवाहरू थिए, जो यरूशलेममा बसोबास गर्थे। (अब केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका कर्मचारीहरू र सोलोमनका चाकरहरूका सन्तानहरू यहूदामा विभिन्न सहरहरूमा आफ्नै सम्पत्ति लिएर बसेका थिए। 4 तर यहूदा र बेन्यामीन दुवै कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसोबास गरेका थिए।) यहूदाका सन्तानहरूबाट: पेरेसको वंशका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महाललेलका छोरा थिए। 5 मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो यहोयारीबका छोरा, जो जकरिया छोरा, जो शेलहका छोरा थिए। 6 यरूशलेममा बस्ने पेरेसका सबै चार सय अठसट्ठी मानिसहरू वीर योद्धा थिए। 7 बेन्यामीनका सन्तानहरूबाट: सल्लू मशुल्लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इतीएलका छोरा, जो यशयाहका छोरा थिए। 8 अनि सल्लूको पछि लाग्नेहरू गब्बै र सल्लैसहित नौ सय अट्ठाइस मानिसहरू थिए। 9 जिक्रीका छोरा योएल तिनीहरूका प्रमुख अधिकृत थिए। हस्सेनूअका छोरा यहूदाचाहिँ सहरको दोस्रो प्रमुख अगुवा थिए। 10 पुजारीहरूबाट: यदायाह, यहोयारीबका छोरा, र याकीन; 11 सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्वरको भवनको रेखदेख गर्थे। 12 तिनीहरूका आठ सय बाइस जना सहयोगीहरू, जसले मन्दिरको निम्ति सेवा गर्थे। अदायाह यरोहामका छोरा, जो पलल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए। 13 अदायाहका दुई सय बयालीस जना सहयोगीहरू, जो परिवारका अगुवाहरू थिए। अमाश्शै, जो अजरेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए। 14 तिनीहरूका एक सय अट्ठाइस साहसी सहयोगीहरू थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलिमका छोरा जब्दीएल थिए। 15 लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए। 16 शब्बतै र योजाबाद, लेवीहरूका दुई जना अगुवा थिए, जसले परमेश्वरको भवनमा बाहिरी कामको जिम्मा पाएका थिए। 17 धन्यवाद र प्रार्थनाको अगुवाइ गर्ने निर्देशक, मीकाका छोरा मत्तन्याह, जो जब्दीका छोरा, जो आसापका छोरा थिए; मत्तन्याहका सहयोगीहरूमा दोस्रो बक्बुक्याह; अनि शम्मूअका छोरा अब्दा, जो गलालका छोरा, जो यदूतूनका छोरा थिए। 18 पवित्र सहरमा भएका लेवीहरूको जम्मा संख्या दुई सय चौरासी थियो। 19 द्वारपालहरू: अक्कूब, तल्मोन र मूलढोकामा पहरा दिने तिनीहरूका एक सय बहत्तर जना सहयोगीहरू, जसले ढोकाको पहरेदार गर्थे। 20 बाँकी रहेका इस्राएलीहरू, पुजारीहरू र लेवीहरूसित आ-आफ्ना पैतृक सम्पत्तिको जमिन यहूदाका सबै सहरहरूमा बसोबास गर्थे। 21 मन्दिरका कर्मचारीहरू ओपेल डाँडामा बस्थे; अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए। 22 यरूशलेमका लेवीहरूका मुख्य अधिकृत बानीका छोरा उज्जी, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकाका छोरा थिए। उज्जीचाहिँ परमेश्वरको भवनको सेवाको जिम्मावाल रहेका आसापका सङ्गीतकार सन्तानहरूमध्ये एक थिए। 23 सङ्गीतकारहरू राजाको आदेशमुनि थिए। राजाको आदेशले तिनीहरूका दैनिक कामको निर्देशन गर्दथ्यो। 24 यहूदाका छोरा जेरहका सन्तानहरूमध्ये एक जना मशेजबेलका छोरा पतहयाह, सारा मानिसहरू सम्बन्धी सबै मामिलाहरूमा राजाका एक विशेष प्रतिनिधि थिए। 25 गाउँहरूमा तिनीहरूका खेतबारीहरू सहित, यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका बस्तीहरू, दीबोन र त्यसका वरिपरिका बस्तीहरू, यक्कब्सेल र त्यसका गाउँहरू, 26 येशूआमा, मोलादामा, बेथ-पेलेतमा; 27 हसर-शूआल, बेर्शेबा र त्यसका बस्तीहरूमा; 28 सिक्लगमा, मकोना र त्यसका बस्तीहरूमा, 29 एन-रिम्मोनमा, सोराहमा, यर्मूतमा, 30 जानोह, अदुल्लाम र तिनीहरूका गाउँहरूमा, लाकीश र त्यसका खेतहरूमा, र अजेका र त्यसका बस्तीहरूमा, यसरी तिनीहरू टाढामा रहेको बेर्शेबादेखि हिन्नोमको बेँसीसम्म बसेका थिए। 31 बेन्यामीनका सन्तानहरू गेबादेखि यी ठाउँहरूमा बस्थेः मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरूमा, 32 अनातोत, नोब र अनन्याहमा, 33 हासोर, रामा र गित्तैममा, 34 हादीद, सबोयीम र नबल्लतमा, 35 लोद, ओनो र सिल्पकारहरूको बेँसी गे-हाराशिममा बसे। 36 यहूदाका लेवीहरूका केही दलहरूचाहिँ बेन्यामीनमा बसोबास गरे।
