मर्कूस 16
NCB1 शब्बाथ दिन सकिएपछि येशूको शरीरमा घस्नलाई भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने। 2 हप्ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे। 3 तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?" 4 तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे। 5 जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्क परे। 6 तिनले भने, “छक्क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर। 7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ “ 8 स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए। 9 जब येशू हप्ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो। 10 तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए। 11 जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्वासै गरेनन्। 12 यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। 13 यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्वास गरेनन्। 14 त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो। 15 उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै सृष्टिलाई यो सुसमाचार सुनाओ। 16 जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्वास नगर्ने दण्डित हुनेछ। 17 अनि विश्वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्, 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।" 19 प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। 20 तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।
