Menu

मत्ती 13

NCB

1 येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्‍नुभयो। 2 उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए। 3 तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्‍टान्तबाट धेरै कुराहरू भन्‍नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो। 4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। 5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले, ती चाँडै उम्रे। 6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। 7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए। 8 अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्‍न फलाए। 9 जसको कान छ, त्यसले सुनोस् र बुझोस्।" 10 चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?" 11 उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन। 12 जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ। 13 यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: तिनीहरूले सुने तापनि सुन्‍ने वा बुझ्नेछैनन्।" 14 तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: " ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ। 15 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “ 16 “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्। 17 किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्। 18 “त्यसैले बिउ छर्नेको दृष्‍टान्तको अर्थ के हो, ध्यानसित सुन: 19 कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो। 20 ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। 21 तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्। 22 काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। 23 तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।" 24 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्‍यो। 25 तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो। 26 जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्‍यो। 27 “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’ 28 " ‘कुनै शत्रुले यसो गर्‍यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्‍ने तपाईं चाहनुहुन्छ?’ 29 “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ। 30 कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ “ 31 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। 32 बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।" 33 उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।" 34 येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो; उहाँले दृष्‍टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्‍नुभएन। 35 यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु; म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।" 36 तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।" 37 उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो। 38 खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्; 39 अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। 40 “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। 41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्। 42 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। 43 तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। 44 “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। 45 “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो, 46 जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो। 47 “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। 48 जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए। 49 युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, 50 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।" 51 येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।" 52 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।" 53 जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो। 54 आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्‍क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्‍त गरे? 55 के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र? 56 के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्‍त भयो?" 57 अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।" 58 उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।

Everything we make is available for free because of a generous community of supporters.

Donate