Menu

लूका 13

NCB

1 त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत पशुबलिका रगतसँग नै मिसाइदिएका थिए। 2 येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ? 3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ। 4 अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ? 5 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।" 6 त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एक जना मानिसको, आफ्नै दाखबारीमा रोपिएको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो। तर त्यसमा एउटै फल पनि भेट्टाएन। 7 यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि फल पाएको छैन। यसलाई काटेर ढालिदेऊ! किन यसले जमिन मात्रै ओगट्ने?’ 8 “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु। 9 यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ “ 10 एक शब्बाथको दिन येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो। 11 त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। 12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।" 13 त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्। 14 येशूले शब्बाथको दिन निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।" 15 तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथको दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र? 16 त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथको दिनमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?" 17 उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए। 18 त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? 19 यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।" 20 उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ? 21 यो त त्यो खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहोउन्जेल लुकाइराखी।" 22 त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो। 23 त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, 24 “साँघुरो ढोकाबाट भित्र पस्‍ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्। 25 जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’ 26 “तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’ 27 “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’ 28 “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। 29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्। 30 अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।" 31 त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।" 32 उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’ 33 जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अगि बढ्नै पर्छ; किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन! 34 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पटक तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्। 35 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।"

Everything we make is available for free because of a generous community of supporters.

Donate