Menu

यहोशू 1

NCB

1 याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्‍नुभयो: 2 “मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्। 3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु। 4 तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्‍चिममा भूमध्य सागरसम्म हुनेछ। 5 तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु। 6 “बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्। 7 “बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्। 8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्‍नति गर्नेछस् र सफलता पाउनेछस्। 9 के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्‍वर तँसित हुनुहुनेछ।" 10 यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए: 11 “छाउनीभित्र गएर मानिसहरूलाई भन, ‘तिमीहरूका खाने कुराहरूको बन्दोबस्त गर। अबको तीन दिनमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आफ्नो उत्तराधिकारको रूपमा दिनुहुने देशमाथि अधिकार गर्न तिमीहरू यर्दन नदी पार गरेर जानेछौ।’ “ 12 तर रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई चाहिँ यहोशूले भने, 13 “याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’ 14 तिमीहरूका पत्नीहरू, छोराछोरीहरू र तिमीहरूका गाईबस्तुहरू चाहिँ मोशाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको भूमिमा बस्‍न सक्छन्। तर तिमीहरूका सबै योद्धाहरू भने लडाइँका निम्ति हातहतियारले सुसज्जित भएर आ-आफ्ना दाजुभाइहरूका साथमा अगि-अगि पारि जानुपर्छ। तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ। 15 याहवेहले तिमीहरूलाई विश्राम दिनुभएझैँ, उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने देशमा तिनीहरूले पनि अधिकार नगरेसम्म तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसपछि तिमीहरू याहवेहका सेवक मोशाले यर्दनको पूर्वपट्टि घाम झुल्कनेतिर तिमीहरूलाई दिएको भूमिमा फर्केर जान सक्छौ, र आफ्नो भूमिमा बसोबास गर्न सक्नेछौ।" 16 तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ। 17 जसरी हामीले मोशाको आज्ञापालन गर्‍यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्‍वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्। 18 तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!"

Everything we make is available for free because of a generous community of supporters.

Donate