Menu

इयोब 38

NCB

1 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्‍नुभयो: 2 “ज्ञानविनाका शब्दहरूले मेरो योजनालाई धमिल्याउने यो को हो? 3 अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्। 4 “मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? यदि तैँले बुझेको छस् भने मलाई भन्। 5 पृथ्वीको नाप कसले गर्‍यो? निश्‍चय नै तँलाई थाहा होला! कसले यसको वरिपरि नाप्‍ने रेखा खिच्यो? 6 पृथ्वीका खम्बाहरू केमाथि अड्याइएको छ, अथवा कसले त्यसको कुनेढुङ्गा बसाल्यो? 7 जब बिहानको ताराहरूले एकसाथ गाउँदा र सारा स्वर्गदूतहरू आनन्दले जयजयकार गर्दा तँ कहाँ थिइस्? 8 “पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा, कसले समुद्रको ढोका थुनिदियो? 9 जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ, र यसलाई बाक्लो अन्धकारले लपेटिदिएँ, 10 जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू र आग्लाहरू ठिक ठाउँमा राखिदिएँ, 11 तब मैले भनेँ, ‘तँ यतिसम्म मात्र आउन सक्छस् र यहाँभन्दा अगि होइन; अनि तेरा घमण्डी छालहरू यहाँ अडिऊन्।’ 12 “के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्, अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्, 13 ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्, र दुष्‍टहरूलाई हल्‍लाएर बाहिर फ्याँकोस्? 14 चिम्टे माटोमा परेको छापजस्तै पृथ्वीले आकृति लिन्छ; त्यसका विशेषताहरू लुगाझैँ देखिन्छन्। 15 दुष्‍ट मानिसहरूको ज्योति खोसिन्छ, र तिनीहरूका उठेका पाखुराहरू भाँचिन्छन्। 16 “के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्? अथवा सागरको गहिराइमा हिँडेको छस्? 17 के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्? के तैँले घोर अन्धकारका ढोकाहरू देखेको छस्? 18 के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्? यदि तैँले यी सबै कुरा जानेको छस् भने मलाई भन्। 19 “ज्योतिको निवासको बाटो कहाँ छ? र अन्धकारले कहाँ बास बस्छ? 20 के तैँले तिनीहरू हरेकलाई तिनीहरूका ठाउँमा लैजान सक्छस्? के तँलाई तिनीहरूका वासस्थानहरूको बाटो थाहा छ? 21 निश्‍चय नै तँलाई थाहा छ; किनकि तँ पहिल्यै नै जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचेको छस्! 22 “के तँ हिउँको भण्डारगृहमा प्रवेश गरेको छस्, अथवा असिनाको भण्डारगृह देखेको छस्; 23 जो मैले विपत्तिको समयको निम्ति, युद्ध र लडाइँका दिनहरूका निम्ति जम्मा गरेको छु? 24 कुन बाटो भएर बिजुली छरिएर निस्कन्छ, अथवा कुन ठाउँबाट पूर्वीय बतास पृथ्वीमा चारैतिर फैलिन्छ, के तँ जान्दछस्? 25 मुसलधारे वृष्‍टिको निम्ति कसले नहर खनेको छ? र चट्याङको निम्ति कसले बाटो तयार गरेको छ? 26 कोही मानिस नबस्‍ने जमिन, कोही बास नगरिएको मरुभूमिलाई भिजाउन, 27 उजाड मरुभूमिलाई प्रशस्त भिजाउन र त्यसमा हरियो घाँसहरू उमार्न, 28 के झरीको पिता छ? अथवा शीतका थोपाहरूलाई कसले जन्माएको हो? 29 कसको गर्भबाट हिउँ निस्कन्छ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्माउँछ, 30 पानी कहिले ढुङ्गाजस्तै कडा हुन्छ, र कहिले गहिरो समुद्रको सतह बरफ बन्छ? 31 “के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्? 32 के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्? अथवा सप्‍तर्षि तारा र त्यसका उपग्रहहरूलाई डोर्‍याउन सक्छस्? 33 के तैँले आकाशका नियमहरू जान्दछस्? के तैँले परमेश्‍वरको शासन पृथ्वीमा स्थापित गर्न सक्छस्? 34 “के तैँले आफ्नो सोर बादलसम्मै पुर्‍याउन सक्छस्, र आफूलाई पानीको भेलले ढाक्न सक्छस्? 35 के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्? के तँलाई तिनीहरूले, ‘हामी यहाँ हाजिर छौँ’ भनी भन्‍न आउँछन्? 36 कसले हृदयमा अन्तर्ज्ञान र दिमागलाई समझ दियो? 37 बादलहरूलाई गन्‍ने बुद्धि कोसँग छ? कसले आकाशका पानीका गाग्राहरूलाई घोप्ट्याउन सक्छ, 38 कहिले धुलो कडा हुन्छ, र माटोका ढिकाहरू एकसाथ टाँसिएर बस्छन्? 39 “के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्, र सिंहको भोकलाई तृप्‍त पार्न सक्छस्, 40 जब तिनीहरू आफ्नो गुफामा लुकेर बसेका हुन्छन्, अथवा झाडीमा ढुकेर बसेका हुन्छन्? 41 जब कागका बचेराहरूले आहाराको अभावको कारण परमेश्‍वरलाई पुकार्दा, तब कसले कागलाई आहारा जुटाइदिन्छ?

Everything we make is available for free because of a generous community of supporters.

Donate