Menu

इयोब 16

NCB

1 तब इयोबले जवाफ दिए: 2 “मैले यस्ता धेरै कुराहरू सुनेको छु; तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ! 3 तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ? 4 यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ। 5 तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो। 6 “मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन। 7 साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ। 8 तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले यसले मेरो विरुद्ध साक्षी दिन्छ। 9 परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ। 10 मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्। 11 परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ। 12 सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ; 13 उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ। 14 उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ। 15 “मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु। 16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ; 17 तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, र मेरो प्रार्थना शुद्ध छ। 18 “हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्! 19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ। 20 मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्; 21 एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ। 22 “थोरै वर्ष बितेर गइसकेपछि, म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।

Everything we make is available for free because of a generous community of supporters.

Donate