यर्मिया 8
NCB1 " ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। 2 तिनीहरूका हड्डीहरू घाम, जुन र आकाशका ताराहरूमुनि फिँजाइनेछन्, जसलाई तिनीहरूले प्रेम गरेका थिए, सेवा गरेका थिए; अनि जसलाई तिनीहरूले पछ्याएका थिए, त्यससँग सल्लाह मागेका थिए र पूजा गरेका थिए। ती हड्डीहरू बटुलिने छैनन्, अथवा गाडिनेछैनन्, तर ती हड्डीहरू जमिनमा जनावरका मलजस्तै फिँजाइनेछन्। 3 म जहाँ-जहाँ तिनीहरूलाई निर्वासनमा पठाउँछु, यस दुष्ट जातिका बाँचेकाहरू सबैले जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’ 4 “तिनीहरूलाई यो पनि भन्, ‘याहवेह यसो भन्नुहुन्छ: " ‘जब मानिसहरू लड्दछन्, के तिनीहरू उठ्दैनन् र? जब कोही मानिस तर्केर जान्छ, के त्यो फेरि फर्कंदैन र? 5 त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्? यरूशलेम किन सधैँ तर्किएर जान्छ? तिनीहरू झूटा कुराहरूमा अल्झिरहन्छन्; तिनीहरू फर्कन अस्वीकार गर्दछन्। 6 मैले ध्यानपूर्वक सुनेको छु, तर तिनीहरूले सही के हो, त्यो बोल्दैनन्। तिनीहरू, “मैले के गरेको छु र?” भन्दै, कसैले पनि आफ्नो दुष्टताको पश्चात्ताप गर्दैनन्। युद्धको निम्ति घोडा जाइलागेझैँ, तिनीहरू हरेक आफ्नै मार्गमा चलेका छन्। 7 आकाशका सारसले पनि आफ्नो तोकिएको ऋतुहरू जान्दछ; अनि ढुकुर, गौँथली र मैनाले पनि आफ्नो बसाइँ सर्ने समय जान्दछन्, तर मेरा मानिसहरूले याहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्। 8 " ‘तिमीहरूले कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौँ, किनकि हामीसँग याहवेहको व्यवस्था छ,” जबकि वास्तवमा शास्त्रीहरूको झूटो कलमले व्यवस्थालाई झूटो तुल्याएको छ? 9 बुद्धिमान्हरू शर्ममा पर्नेछन्; तिनीहरू हताश हुनेछन् र पासोमा पर्नेछन्। किनभने तिनीहरूले याहवेहको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूसँग कस्तो बुद्धि छ? 10 यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतहरू नयाँ मालिकलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ताहरू र पुजारीहरूसमेत सबैले छल गर्दछन्। 11 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि, तिनीहरूले, “शान्ति, शान्ति,” भन्दछन्। 12 के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्ने भन्ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्। जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्ट हुनेछन्, याहवेह भन्नुहुन्छ। 13 " ‘याहवेह घोषणा गर्नुहुन्छ: म तिनीहरूका फसलहरू लैजानेछु। दाखका बोटहरूमा अङ्गुरहरू हुनेछैनन्। नेभाराको बोटमा फल हुनेछैन; अनि तिनीहरूका पातहरू ओइलाउनेछन्। मैले तिनीहरूलाई जे जति दिएको छु, ती तिनीहरूबाट खोसिनेछन्।’ “ 14 हामी यहाँ किन चुप लागेर बसिरहेका छौँ? एकसाथ भेला होऔँ! हामी सुरक्षित सहरहरूतिर भागौँ र त्यहीँ नै नष्ट होऔँ! किनकि याहवेह हाम्रा परमेश्वरले हाम्रो विनाशको निर्णय गर्नुभएको छ; अनि हामीलाई विषालु पानी पिउनलाई दिनुभएको छ; किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौँ। 15 हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन। निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्क मात्र भएको छ। 16 दानबाट शत्रुका घोडाहरूका आवाज सुनिँदैछ। तिनीहरूका घोडाहरूको हिनहिनाएको आवाजमा सारा देश थरथर काम्दछ। तिनीहरू देश र त्यसमा भएका हरेक कुराहरू, सहर र त्यहाँ बस्ने सबै मानिसहरूलाई नाश गर्न आएका छन्। 17 “हेर, म तिमीहरूका बीचमा विषालु सर्पहरू पठाउनेछु। त्यस्ता सर्पहरू जसलाई वशमा पार्न सकिँदैन; अनि तिनीहरूले तिमीहरूलाई डस्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। 18 हे मेरा दुःखमा सान्त्वना दिने, मेरो हृदय मभित्र दुर्बल भएको छ। 19 टाढाबाट मेरा मानिसहरूको चिच्याहट, मेरा मानिसहरूका क्रन्दन सुन्नुहोस्: “के याहवेह सियोनमा हुनुहुन्न? के सियोनको राजा अब त्यहाँ हुनुहुन्न?” “किन तिनीहरूले तिनीहरूका कुँदिएका मूर्तिहरू र तिनीहरूका काम नलाग्ने विदेशी मूर्तिहरूले मलाई रिस उठाएका छन्?" 20 “कटनीको समय बितिसकेको छ; ग्रीष्म ऋतु समाप्त भइसकेको छ, तर पनि हाम्रोचाहिँ उद्धार भएकै छैन।" 21 मेरा मानिसहरू चकनाचुर पारिएका छन्; अनि म पनि चकनाचुर भएको छु। म शोकमा छु र पूर्ण रूपमा हताश भएको छु। 22 के गिलादमा निको पार्ने मलम छैन? के त्यहाँ कुनै वैद्यहरू छैनन्? त्यसो भए किन मेरा मानिसहरूको चोट निको भएको छैन?
