यर्मिया 40
NCB1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए। 2 जब अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई भेट्टाए, तब नबूजरदानले उनलाई भने, “याहवेह तपाईंका परमेश्वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने घोषणा गर्नुभएको थियो। 3 अनि अहिले याहवेहले यो कुरा हुन दिनुभएको छ; उहाँले जे गर्छु भन्नुभएको थियो, त्यो गर्नुभएको छ। किनकि तपाईंहरूले याहवेहको विरुद्धमा पाप गर्नुभएको छ र उहाँको आज्ञापालन गर्नुभएको छैन। 4 तर आज म तपाईंलाई तपाईंका हातको साङ्लाबाट मुक्त गरिदिँदैछु। यदि तपाईंलाई इच्छा लाग्यो भने मसँग बेबिलोनमा आउनुहोस्, र म तपाईंको हेरचाह गर्नेछु; तर यदि तपाईं आउन चाहनुहुन्न भने नआउनुहोला। हेर्नुहोस्, सारा देश तपाईंको सामु छ, तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जानुहोस्।" 5 अनि यर्मिया जान लाग्दा नबूजरदानले थपेर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ फर्केर जानुहोस्, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। अनि तिनीसँग मानिसहरूबीच तपाईं बस्न सक्नुहुन्छ, अथवा तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जान सक्नुहुन्छ।” तब सेनापतिले तिनलाई केही खानेकुराहरू र उपहार दिएर तिनलाई जान दिए। 6 यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्न लागे। 7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई त्यस देशका राज्यपाल नियुक्त गरेका छन्; र त्यहाँका मानिसहरू, स्त्रीहरू र केटाकेटीहरू, जो देशमा गरिब थिए, र तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको थिएन; अनि ती सबै तिनको जिम्मामा छन् भनेर जब त्यस बस्तीमा आत्मसमर्पण नगरी बसिरहेका सेनाका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने, 8 तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। 9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ। 10 म आफैँचाहिँ हामीहरूकहाँ आउने बेबिलोनीहरूका अगाडि तिमीहरूको प्रतिनिधित्व गरेर मिस्पामा बस्नेछु, तर तिमीहरूले चाहिँ दाखमद्यको निम्ति कालो अङ्गुर, ग्रीष्म ऋतुका फलहरू र जैतुन तेलका कटनी गरेर आफ्ना भाँडाहरूमा भण्डारण गर, र तिमीहरूले कब्जा गरेका सहरहरूमा बस।" 11 जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्ने कुरा सुने; 12 तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे। 13 त्यसपछि कारेहका छोरा योहानान र खुल्ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए; 14 अनि तिनलाई भने, “के अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको ज्यान लिन पठाएका छन् भन्ने कुरा तपाईंलाई थाहा छैन?” तर अहीकामका छोरा, गदल्याहले तिनीहरूको कुरामा विश्वास नै गरेनन्। 15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “मलाई जान दिनुहोस्, र नतन्याहका छोरा इश्माएललाई मार्न दिनुहोस्; अनि कसैले पनि यो कुरा थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको प्राण लिन दिने र तपाईंका वरिपरि भेला भएका यहूदीहरूलाई फेरि छरपस्ट हुन दिने र यहूदामा बाँकी रहेकाहरूलाई नष्ट हुन किन दिने?" 16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।"
