Menu

यर्मिया 35

NCB

1 यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो: 2 “रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।" 3 यसकारण म हबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याह, उनका दाजुभाइहरू, र उनका सबै छोराहरू—रेकाबीहरूका सम्पूर्ण परिवारलाई लिन गएँ। 4 मैले तिनीहरूलाई याहवेहको भवनको कोठामा ल्याएँ, जुन कोठाचाहिँ यिग्दल्याहका छोरा परमेश्‍वरको अगमवक्ता हानानका छोराहरूको थियो, त्यहीँ कोठामा ल्याएँ। त्यो कोठाचाहिँ शल्‍लूमको छोरा मूलढोकाको पहरेदार मासेयाहको कोठामाथि अधिकारीहरूको कोठाको छेउमा थियो। 5 त्यसपछि मैले रेकाबी परिवारका मानिसहरूको सामु दाखमद्यले भरिएका भाँडाहरू र केही कचौराहरू राखिदिएँ; अनि तिनीहरूलाई भनेँ, “केही दाखमद्य पिउनुहोस्।" 6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू। 7 अनि तिमीहरूले घरहरू नबनाउनू, बिउ नछर्नू अथवा दाखबारी नलगाउनू। तिमीहरूसँग यी कुनै पनि कुराहरू कहिल्यै नहोस्, तर तिमीहरू सधैँ पालहरूमा बस्‍नू। तिमीहरू प्रवासी भएर बसेको यस देशमा लामो समयसम्म बाँच्नेछौ।’ 8 हामीले हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। न हामी आफैँले, न हाम्रा पत्नीहरूले, न त हाम्रा छोराछोरीहरूले कहिल्यै मद्य पिएका छौँ, 9 अथवा न त आफ्ना निम्ति बस्‍न घरहरू बनाएका छौँ, न आफ्ना दाखबारीहरू लगाएका छौँ, न त खेतबारी लगाएका छौँ, न अन्‍नहरू नै जम्मा गरेका छौँ। 10 हामी पालहरूमा बसेका छौँ, र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। 11 तर बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गर्दा ‘हामीले भन्यौँ, आओ, बेबिलोनी र अरामी सेनाहरूबाट उम्कन हामी यरूशलेममा जाऔँ।’ यसरी हामी यरूशलेममै बस्दैछौँ।" 12 तब याहवेहको यो वचन यर्मियाकहाँ आयो: 13 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: गएर यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्, ‘के तिमीहरूले पाठ सिक्दैनौ र मेरा कुराहरू पालन गर्दैनौ?’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। 14 ‘रेकाबको छोरा योनादाबले आफ्ना छोराहरूलाई दाखमद्य नपिउनू भनी आदेश दियो, र तिनीहरूले त्यस आज्ञालाई पालन गरेका छन्। आजको दिनसम्म तिनीहरू दाखमद्य पिउँदैनन्; किनकि तिनीहरूले आफ्ना पुर्खाको आज्ञापालन गर्छन्। तर मैले तिमीहरूलाई बारम्बार भन्दै आएको छु, तापनि तिमीहरूले मेरा आज्ञापालन गरेका छैनौ। 15 मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्‍ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ। 16 रेकाबको छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञाहरू पालन गरेका छन्, तर यी मानिसहरूले मेरो वचन पालन गरेका छैनन्।’ 17 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्‍ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’ “ 18 तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञापालन गरेका छौ र उसका सबै निर्देशनअनुसार चलेका छौ; अनि उसले आज्ञा गरेका सबै कुरा गरेका छौ।’ 19 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ “

Everything we make is available for free because of a generous community of supporters.

Donate