Menu

न्यायकर्ता 17

NCB

1 एफ्राइमको पहाडी मुलुकका मीका नामका एक जना मानिस थिए। 2 उनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ती एघार सय शेकेल चाँदी, जसको विषयमा तपाईंले श्राप दिनुभएको मैले सुनेँ—त्यो चाँदी मसित छ; त्यो मैले नै लिएको थिएँ।” तब उनकी आमाले भनिन्, “मेरो छोरा, याहवेहले तिमीलाई आशिष् देऊन्!" 3 उनले ती एघार सय शेकेल चाँदी आफ्नी आमालाई फर्काएपछि तिनले भनिन्, “मैले यो चाँदी मेरा छोराले खोपेको आकृति र ढालेको मूर्ति बनाओस् भनेर याहवेहकहाँ अर्पण गर्छु। म यो तिमीलाई फर्काइदिनेछु।" 4 यसरी उनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले चाँदीका दुई सय सेकेल लिएर एउटा शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखियो। 5 मीकाको एउटा देवस्थान थियो। उनले एउटा एपोद र केही पारिवारिक मूर्तिहरू बनाएर आफ्ना छोराहरूमध्ये एक जनालाई त्यसको पुजारी बनाएर राखे। 6 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो। 7 यहूदाको बेथलेहेमबाट आएका यहूदाका वंशको बीचमा बस्‍ने एक जवान लेवी थियो। 8 उसले त्यस सहरलाई छोडिदियो, र अर्को बस्‍ने ठाउँको खोजीमा हिँड्यो; अनि ऊ एफ्राइमको पहाडी मुलुकमा मीकाको घरमा आइपुग्यो। 9 मीकाले उसलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म यहूदाको बेथलेहेमबाट आएको एक लेवी हुँ, र म बस्‍ने ठाउँको खोजीमा छु।" 10 तब मीकाले उसलाई भने, “मसँगै बस, र मेरा बुबा र पुजारी होऊ। म तिमीलाई प्रतिवर्ष दश शेकेल चाँदी, तिमीलाई खान-लाउन पनि दिनेछु।" 11 यसकारण त्यो लेवी मीकासँग बस्‍न राजी भयो। उनको लागि त्यो जवान मानिस आफ्नै छोराझैँ भयो। 12 तब मीकाले त्यो लेवीलाई नियुक्त गरे, र त्यो जवान मानिस उनको पुजारी भएर उनको घरमा बस्‍न थाल्यो। 13 तब मीकाले भने, “अब म यो जान्दछु, याहवेह मप्रति असल हुनुहुनेछ; किनकि एक लेवी मेरा पुजारी भएका छन्।"

Everything we make is available for free because of a generous community of supporters.

Donate