Menu

यशैया 62

NCB

1 यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म, त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म, म सियोनको खातिर चुप रहनेछैनँ; म यरूशलेमको खातिर मौन रहनेछैनँ। 2 जाति-जातिहरूले तेरो धार्मिकता, सबै राजाहरूले तेरो गौरव देख्नेछन्; याहवेहले आफ्नै मुखले दिनुहुने नयाँ नामद्वारा तँ बोलाइनेछस्। 3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्। 4 अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्, न त तेरो देशलाई उजाड भन्‍नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ। 5 जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ; जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ। 6 हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्। हे याहवेहलाई पुकार्नेहरू हो, आफूलाई विश्राम नदेओ; 7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ। 8 याहवेहले आफ्नो दाहिने हात र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ: “म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई भोजनको निम्ति दिनेछैनँ; अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्, त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्। 9 तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्, र याहवेहको प्रशंसा गर्नेछन्; अनि जसले अङ्‌गुर बटुल्नेछन्, तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।" 10 जाओ, मूलढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार पार। बनाओ, राजमार्ग बनाओ! ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झण्डा खडा गर। 11 याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! हेर्, उहाँको पुरस्कार उहाँसित छ, र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ “ 12 तिनीहरू पवित्र जाति, याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर, नत्यागिएको सहर भनिनेछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate