यशैया 58
NCB1 “उच्च सोरले करा, चुप लागेर नबस्। तुरहीको जस्तै तेरो सोर उचाल्। मेरो प्रजालाई तिनीहरूका विद्रोह र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे। 2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्; तिनीहरू जे ठिक छ, त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा नत्याग्ने, तर मेरा मार्ग जान्न इच्छा गर्ने जातिजस्तै देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्, र परमेश्वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्। 3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ, तपाईंले किन त्यो देख्नुहुन्न? हामीले आफूलाई नम्र तुल्यायौँ, तपाईंले किन ध्यान दिनुहुन्न?’ “तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ, र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ। 4 तिमीहरूका उपवास वाद-विवाद, झगडा र हात हालाहालमा टुङ्गिन्छ। यस प्रकारको उपवास बस्दा तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन। 5 के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने किसिमको उपवास मैले चाहेको हो र? के यो आफ्नो शिर निगालोझैँ निहुराएर भाङ्ग्रा र खरानीमा बस्ने मात्र हो? के यसैलाई तिमीहरू उपवास भन्छौ, के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ? 6 “मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र? 7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र? 8 जब तिमीहरू यी सबै गर्न थाल्छौ, तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ; धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ। 9 जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्नुहुनेछ। “यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ, एक-अर्कालाई दोष लगाउने काम र दुष्ट कुरा त्यागिदियौ भने, 10 यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ। 11 याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ; अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ। 12 तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्; अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्; तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू, सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ। 13 “यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ दिन उल्लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथ दिनलाई प्रसन्नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने, 14 तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” म याहवेहको मुखले बोलेको हुँ।
