यशैया 48
NCB1 “हे याकोबको घराना, यो कुरा सुन, तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका छौ, तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ र इस्राएलका परमेश्वरलाई पुकार्छौ; तर सत्यता र धार्मिकतामा होइन; 2 तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; अनि इस्राएलका परमेश्वरमा भरोसा राख्छौ; उहाँको नाम सेनाहरूका याहवेह हो। 3 मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु, मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ; तब झट्टै मैले काम गरेँ, र ती हुन आए। 4 किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो। 5 यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ; ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ, ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’ भनी भन्न नपाओस्। 6 तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्। के तँ ती कुराहरू स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्नेछु, तैँले नजानेका गुप्त कुराहरू भन्नेछु। 7 ती धेरै अगि होइन, अहिले सृजिएका हुन्; तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्। यसकारण तैँले, ‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्न सक्दैनस्। 8 तैँले न त सुनेको छस्, न त बुझेको छस्; प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन। तँ कति विश्वासघाती छस् भनी म राम्ररी जान्दछु; तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो। 9 म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु; मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु, यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्। 10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन; मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु। 11 मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ। 12 “हे याकोब सुन्, इस्राएल, जसलाई मैले बोलाएको छु: म उही हुँ, प्रथम र अन्तिम म नै हुँ। 13 मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो, र मेरो दाहिने हातले आकाशहरू फैलाएको हो; मैले तिनीहरूलाई बोलाउँदा तिनीहरू सबै एकसाथ खडा हुन्छन्। 14 “तिमीहरू सबै एकसाथ आएर सुन: कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ? याहवेहको चुनिएको सहयोगीले बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ; त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ। 15 म आफैँले बोलेको छु; हो, मैले त्यसलाई बोलाएको छु। म त्यसलाई ल्याउनेछु, र त्यो आफ्नो काममा सफल हुनेछ। 16 “मेरो नजिक आएर यो सुन: “मेरो पहिलो घोषणादेखि नै म गुप्तमा बोलेको छैनँ; यो हुन आएको समयदेखि नै, म छँदैछु।” अब प्रभु याहवेहले मलाई उहाँको आत्मासित पठाउनुभएको छ। 17 तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्वर याहवेह यसो भन्नुहुन्छ— “म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई सबैभन्दा असल के हुन्छ, सो सिकाउनुहुन्छ, जसले तिमीहरूले हिँड्नुपर्ने बाटो बताउनुहुन्छ। 18 यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए, तिमीहरूका शान्ति नदीझैँ हुनेथियो; तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो। 19 तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए, र तिमीहरूका बालबच्चाहरू त्यसका असंख्य कणहरूझैँ हुनेथिए; तिनीहरूका नाम मेरो सामुबाट कहिल्यै हटाइनेथिएन, न त नाश गरिनेथियो।" 20 बेबिलोनलाई छोडिदेओ, बेबिलोनीहरूबाट भाग! यसलाई हर्षको चीत्कारले सूचित गर र यसलाई घोषणा गर। यसलाई पृथ्वीको छेउसम्म पठाओ; “याहवेहले आफ्नो सेवक याकोबलाई मोल तिरेर छुटाउनुभएको छ” भनी भन। 21 तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो; उहाँले चट्टानलाई फोर्नुभयो र पानी जोडसित फुटेर निस्क्यो। 22 याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।"
