यशैया 40
NCB1 सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ! तिमीहरूका परमेश्वर भन्नुहुन्छ। 2 यरूशलेमसित कोमलतासाथ कुरा गर। त्यसलाई भन, त्यसका कठिन सेवा पूरा भइसकेको छ, त्यसका पापको मूल्य तिरिएको छ; त्यसले याहवेहको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ। 3 एक जना कराउनेको आवाज सुनिन्छ: “उजाडस्थानमा याहवेहको निम्ति बाटो तयार पार; उजाडस्थानमा हाम्रा परमेश्वरका निम्ति राजमार्ग सीधा बनाओ। 4 प्रत्येक उपत्यका अग्लो पारिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; टेढामेढा जमिन मिलाइनेछ, खाल्टाखुल्टी समतल बनाइनेछ। 5 तब याहवेहको महिमा प्रकट हुनेछ, र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्। किनकि याहवेहको मुखले यो भनेको छ।" 6 एउटा आवाजले भन्छ, “करा।” अनि मैले भनेँ, “म के भनेर कराऊँ?” “सारा मानिसहरू घाँसजस्तै हुन्, र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्। 7 घाँस ओइलाउँछ र फूल झरिहाल्छ; किनकि याहवेहको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्। 8 घाँस ओइलाउँछ र फूल झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ।" 9 हे सियोनमा शुभ समाचार ल्याउने, अग्लो पर्वतमा चढ्! हे यरूशलेममा शुभ समाचार ल्याउने, आफ्नो सोर जोडले उचाल्, सोर उचाल्, नडरा; यहूदाका नगरहरूलाई भन्, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!" 10 हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ, र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ। हेर, उहाँको पुरस्कार उहाँसितै छ, र उहाँको प्रतिफल उहाँको साथमा छ। 11 उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ: उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ; तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ; उहाँले स-साना बच्चा भएकाहरूलाई बिस्तारै डोर्याउनुहुन्छ। 12 कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ, अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ? कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ, अथवा पर्वतहरू र डाँडाहरूलाई तराजुमा जोखेको छ? 13 कसले याहवेहको मनलाई बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ? 14 समझको निम्ति याहवेहले कससित सल्लाह लिनुभयो, र कसले उहाँलाई उचित मार्ग देखायो? उहाँलाई ज्ञान सिकाउने अथवा समझको मार्ग देखाउने को हो? 15 निश्चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्; तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्; उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ। 16 वेदीका दाउराको निम्ति लेबनान पर्याप्त छैन, न त त्यसका जन्तुहरू होमबलिको निम्ति प्रशस्त छन्। 17 उहाँको सामु सबै जातिहरू केही होइनन्; तिनीहरूलाई उहाँले व्यर्थको र शून्यभन्दा पनि थोरै ठान्नुभएको छ। 18 तब तिमीहरू परमेश्वरलाई कोसित तुलना गर्छौ? तिमीहरूले उहाँलाई कुन आकृतिसित तुलना गर्छौ? 19 मूर्तिलाई कारिगरले खोपेर बनाउँछ, सुनारले त्यसलाई सुनले मोहर्छ, र त्यसको निम्ति चाँदीको सिक्रीहरू बनाउँछ। 20 यस्तो भेटी चढाउन नसक्ने अति गरिबले चाहिँ एउटा नकुहिने काठ छान्छ; त्यसले नहल्लिने किसिमको एउटा मूर्ति बनाउन एक जना सिपालु कारिगर खोज्छ। 21 के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के तिमीहरूलाई यो सुरुदेखि नै भनिएको थिएन? के तिमीहरूले पृथ्वीको जग बसालिएदेखि नै बुझेका छैनौ? 22 उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ; पृथ्वीका मानिसहरू फट्याङ्ग्राजस्ता छन्। उहाँले आकाशलाई मण्डपझैँ तन्काउनुहुन्छ; अनि त्यसमा बास गर्नलाई त्यो पालझैँ फिँजाउनुहुन्छ। 23 उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ, र यस संसारका शासकहरूलाई हटाएर बेकम्मा तुल्याउनुहुन्छ। 24 तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ, तिनीहरूले जमिनमा जरा हाल्नसाथ, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ, र तिनीहरू ओइलिन्छन्; अनि भुमरीले तिनीहरूलाई भुसझैँ उडाएर लैजान्छ। 25 “तिमीहरू मलाई कससित तुलना गर्छौ? अथवा को म समान छ?” पवित्र परमेश्वर भन्नुहुन्छ। 26 आफ्ना आँखा उठाएर आकाशतिर हेर: कसले यी सबै कुराहरू सृष्टि गरे? उहाँ, जसले तारामण्डललाई एक-एक गरी ल्याउनुहुन्छ, र प्रत्येकलाई नामद्वारा बोलाउनुहुन्छ। उहाँको महान् पराक्रम र बलवान् शक्तिको कारण तीमध्ये एउटै पनि हराएको छैन। 27 हे याकोब, तँ किन गुनासो पोख्छस्, हे इस्राएल, तँ किन यस्तो भन्छस्, “मेरो मार्ग याहवेहबाट लुकेको छ; मेरो मुद्दा मेरा परमेश्वरले बेवास्ता गर्नुभएको छ?" 28 के तँ जान्दैनस्? के तैँले सुनेको छैनस्? याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ, सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ, उहाँको बुद्धि अपरम्पार छ। 29 उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ, र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ। 30 जवानहरू पनि थाक्छन् र गल्छन्; अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्; 31 तर याहवेहमा आशा राख्नेहरूले नयाँ सामर्थ्य पाउँछन्। तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
