यशैया 22
NCB1 दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: अहिले तिमीहरूलाई के भयो, कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ? 2 हे होहल्ला र खैलाबैला भरिएको सहर, हे हलचल र उत्तेजनाले भरिएको नगर; मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, न त तिनीहरू लडाइँमा मारिएका हुन्। 3 तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, र तिमीहरू एकसाथ कैदमा लगियौ। 4 यसकारण मैले भनेँ, “मबाट गइहाल; मलाई धुरुधुरु रुन देओ। मेरा जातिको संहारमा मलाई सान्त्वना दिने प्रयास नगर।" 5 सेनाहरूका याहवेह, प्रभुकहाँ दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची र आतङ्कको एउटा दिन छ; पर्खाल भत्काउने र पहाडहरूसित कराउने एउटा दिन छ। 6 एलामले आफ्ना सारथीहरू र घोडाहरूसित आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; कीरले ढालको खोल निकाल्छ। 7 तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्। 8 यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्; 9 तैँले दावीदको सहरका धेरै पर्खालहरूमा धाँदाहरू देखिस्; तैँले तल्लो पोखरीमा पानी जम्मा गरिस्। 10 तैँले यरूशलेममा भवनहरू गनिस्, र पर्खाल बलियो पार्न घरहरू भत्काइस्। 11 तैँले पुरानो कुवाको पानीको निम्ति दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्, तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्; अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्। 12 त्यस दिन प्रभु, सेनाहरूका याहवेहले तँलाई त्यससित रुन र विलाप गर्न, आफ्नो केश लुछ्न र भाङ्ग्रा लगाउन बोलाउनुभयो। 13 तर हेर, आनन्द र रमाहट, पशुहरू संहार गर्ने र भेडाहरू मार्ने, मासु खाने र मद्य पिउने काम भइरहेछ! तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ; किनकि भोलि त हामी मर्नेछौँ!" 14 सेनाहरूका याहवेहले मैले सुन्ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्नुहुन्छ। 15 प्रभु, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जा, त्यस भण्डारेलाई, राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्: 16 तँ यहाँ के गर्दैछस्, र तँलाई यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो? यस उचाइमा आफ्नो चिहान खोप्ने, र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्? 17 “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ; अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ। 18 उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ; अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्र्याइदिनुहुनेछ। त्यहीँ नै तँ मर्नेछस्, र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्, र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ! 19 म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु, र तँ आफ्नो पदबाट निकालिनेछस्। 20 “त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु। 21 म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ। 22 म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन। 23 म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ। 24 आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।" 25 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।
