Menu

हिब्रूहरू 1

NCB

1 बितेका समयमा परमेश्‍वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्‍न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; 2 तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्‍वलाई पनि बनाउनुभयो। 3 पुत्रचाहिँ परमेश्‍वरको महिमाको चमक र उहाँ परमेश्‍वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो। 4 यसकारण उहाँ स्वर्गदूतभन्दा उच्‍च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्‍च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ। 5 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु?” अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्?" 6 परमेश्‍वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।" 7 स्वर्गदूतहरूका विषयमा उहाँ भन्‍नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।" 8 तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ। 9 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।" 10 उहाँ यसो पनि भन्‍नुहुन्छ, “हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै हातका काम हुन्। 11 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। 12 तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ, वस्त्रझैँ ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।" 13 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कुनै समयमा यसो भन्‍नुभयो, “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस” ? 14 तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?

Everything we make is available for free because of a generous community of supporters.

Donate