Menu

उत्पत्ति 40

NCB

1 केही समयपछि इजिप्टका राजाका मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेले आफ्ना मालिक इजिप्टका राजाको विरुद्धमा अपराध गरे। 2 फारो आफ्ना दुई पदाधिकारीहरू अर्थात् मुख्य मद्य टक्र्याउने र मुख्य भान्से दुवैसँग क्रोधित भए। 3 अनि तिनीहरूलाई अङ्गरक्षकका सेनापतिको घरमा थुनामा राखिदिए, जहाँ योसेफ पनि थुनामा परेका थिए। 4 अङ्गरक्षकका सेनापतिले तिनीहरूलाई पनि योसेफको जिम्मामा सुम्पिदिए, र तिनले उनीहरूको हेरचाह गरे। उनीहरू थुनामा रहेको केही समयपछि, 5 ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो। 6 भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे। 7 यसकारण तिनले आफ्ना मालिकका घरमा आफूसित थुनामा परेका फारोका पदाधिकारीहरूलाई सोधे, “आज तपाईंहरू किन यति उदास हुनुहुन्छ?" 8 तिनीहरू दुवैले जवाफ दिए, “हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।” तब योसेफले तिनीहरूलाई भने, “के सपनाका अर्थहरू परमेश्‍वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्‍नुहोस्।" 9 यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ, 10 अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए। 11 फारोको कचौरा मेरो हातमा थियो, मैले दाखहरू लिएँ, र ती दाखहरूलाई फारोको कचौराभित्र निचोरिदिएँ; अनि त्यो कचौरा तिनको हातमा टक्र्याइदिएँ।" 12 योसेफले उनलाई भने, “यसको अर्थ यही हो, तीन हाँगाहरू तीन दिन हुन्। 13 तीन दिनभित्र फारोले तपाईंलाई उच्‍च पार्नुहुनेछ, र तपाईंलाई तपाईंको पहिलेकै काममा नियुक्त गर्नुहुनेछ; अनि तपाईं तिनको मद्य टक्र्याउने हुँदा जे गर्नुहुन्थ्यो, त्यसरी नै तपाईंले फारोको कचौरा उहाँको हातमा टक्र्याउनुहुनेछ। 14 तर जब तपाईंसँग सबै कुरा सही हुन्छ, मलाई सम्झनुहोला, र ममाथि दया देखाउनुहोला; फारोलाई मेरो विषयमा भनिदिनुहोस्, र मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्। 15 किनकि मलाई हिब्रूहरूको देशबाट बलपूर्वक ल्याइएको हो; अनि यहाँ पनि मैले झ्यालखानामा हालिने कुनै काम गरेको छैनँ।" 16 जब योसेफले मुख्य मद्य टक्र्याउनेको सपनाको अर्थ राम्रो खोलिदिएको मुख्य भान्सेले देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेँ: मेरो शिरमा रोटीले भरिएका तीन टोकरीहरू थिए। 17 माथिल्‍लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।" 18 “यसको अर्थ यही हो,” योसेफले भने, “ती तीन टोकरीहरू तीन दिन हुन्। 19 तीन दिनभित्र फारोले तपाईंको शिर काट्नुहुनेछ, र तपाईंको शरीरलाई एउटा रूखमा झुण्ड्याइदिनुहुनेछ। अनि चराहरूले तपाईंको शरीरलाई खानेछन्।" 20 अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे: 21 फारोले मुख्य मद्य टक्र्याउनेलाई पहिलेकै काममा नियुक्त गरे। अनि उनले फेरि फारोको हातमा कचौरा टक्र्याए; 22 तर योसेफले उनीहरूलाई अर्थ बताएझैँ मुख्य भान्सेलाई फारोले झुन्ड्याइदिए। 23 तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।

Everything we make is available for free because of a generous community of supporters.

Donate