Menu

उत्पत्ति 22

NCB

1 केही समयपछि परमेश्‍वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।" 2 तब परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।" 3 भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे। 4 तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। 5 तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।" 6 अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए, 7 तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?" 8 अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्‍वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे। 9 जब तिनीहरू परमेश्‍वरले भन्‍नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे। 10 तब अब्राहामले आफ्नो छोरालाई मार्न भनी हात छुरीतिर अगि बढाए। 11 तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।" 12 अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।" 13 तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए। 14 यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्‍ने चलन छ। 15 तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रोपल्ट बोलाए, 16 र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण, 17 म निश्‍चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्; 18 अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।" 19 तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले। 20 केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो, “मिल्का पनि आमा भइन्; तिनले तपाईंका दाजु नाहोरका निम्ति छोराहरू जन्माएकी छिन्: 21 जेठोको नाम ऊज र माहिलोको नाम बूज; अनि साहिँलोको नाम कमूएल (अरामका पिता) हो; 22 अरू छोराहरूका नाम केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल हो।" 23 बतूएल रिबेकाका पिता भए। यी आठै जना छोरालाई मिल्काले अब्राहामका भाइ नाहोरका निम्ति जन्माइन्। 24 नाहोरकी उपपत्नीको नाम रूमा थियो; तिनले पनि छोराहरू जन्माइन्: तिनीहरूका नाम तेबह, गहम, तहस र माका थिए।

Everything we make is available for free because of a generous community of supporters.

Donate