उत्पत्ति 11
NCB1 त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो। 2 मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले। 3 तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे। 4 त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।" 5 तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो। 6 त्यसपछि याहवेहले भन्नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन। 7 आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।" 8 यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे। 9 त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो। 10 शेमका वंशको विवरण यही हो: जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता भए। 11 अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए। 12 जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए। 13 अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए। 14 जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए। 15 अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। 16 जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए। 17 अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। 18 जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए। 19 अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। 20 जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए। 21 अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। 22 जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए। 23 अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। 24 जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए। 25 अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। 26 जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए। 27 तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए। 28 आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे। 29 अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए। 30 अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन। 31 तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले। 32 तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।
