एज्रा 1
NCB1 परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: 2 “परसीयाका राजा कोरेस यसो भन्छन्: " ‘याहवेह, स्वर्गका परमेश्वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ। 3 तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ। 4 अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ “ 5 त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए। 6 तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे। 7 त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए। 8 परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए। 9 ती चीजहरूको तालिका यही थियो: सुनका थालहरू 30 वटा; चाँदीका थालहरू 1,000 वटा; चाँदीका कराहीहरू 29 वटा; 10 सुनका कचौराहरू 30 वटा; एकै किसिमका चाँदीका कचौराहरू 410 वटा; अन्य भाँडाकुँडाहरू 1,000 वटा। 11 सबै गरेर सुन र चाँदीका जम्मा भाँडाहरू 5,400 थिए। बेबिलोनबाट यरूशलेम फर्कंदा शेश्बस्सरले निर्वासित यहूदीहरूसँगै ती सबै कुराहरू ल्याए।
