इजकिएल 7
NCB1 याहवेहको वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, प्रभु याहवेह इस्राएल देशलाई यसो भन्नुहुन्छ: " ‘अन्त्य! देशका चारै कुनामाथि अन्त्य आइपुगेको छ! 3 अब अन्त्य तँमाथि छ, र म आफ्नो रिस तेरो विरुद्धमा ल्याउनेछु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु; अनि तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। 4 म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म निश्चय नै तेरा चाल र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। " ‘तब तैँले जान्नेछस्, कि म नै याहवेह हुँ।’ 5 “प्रभु याहवेह यसो भन्नुहुन्छ: " ‘विपत्ति! कहिल्यै नसुनिएको विपत्ति! हेर्, यो विपत्ति आउँदैछ! 6 अन्त्य आएको छ! अन्त्य आएको छ! यो तेरो विरुद्धमा आफैँ सुरिइएको छ। हेर्, त्यो आउँदैछ! 7 यो देशमा बसोबास गर्नेहरू, तिमीहरूमाथि सर्वनाश आएको छ। समय आएको छ! दिन नजिकै छ! पर्वतहरूमा आनन्द होइन, तर त्रास छ। 8 मैले मेरो क्रोध तँमाथि खन्याउन लागेको छु, र तेरो विरुद्धमा मेरो रिस पोखाउन आँटेको छु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु, र तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। 9 म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म तेरा चालअनुसार र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। " ‘तब तैँले जान्नेछस्, कि तँलाई प्रहार गर्ने याहवेह म नै हुँ। 10 " ‘हेर्, त्यो दिन! हेर्, त्यो आएको छ! सर्वनाश निस्केर आएको छ; लट्ठीमा टुसा पलाएको छ, अहङ्कार फक्रेको छ! 11 दुष्टलाई दण्ड दिनलाई, लट्ठी बनेको छ; कुनै पनि मानिस छोडिनेछैन; त्यस भीडका कोही पनि रहनेछैन। तिनीहरूका धनसम्पत्ति, कुनै पनि बहुमूल्य कुरा, केही पनि छोडिनेछैन। 12 त्यो समय आइपुगेको छ! त्यो दिन आइपुगेको छ! किन्नेले हर्ष नमनाओस्, न त बेच्नेले शोक गरोस्; किनभने मेरो क्रोध सारा भीडमाथि परेको छ। 13 बेच्ने र किन्ने दुवै बाँचुन्जेल— बेच्नेले बेचेको जमिन फेरि पाउन सक्दैन। किनकि सम्पूर्ण भीडहरूका निम्ति न्यायको दर्शन बदलिनेछैन। तिनीहरूका पापको कारण तिनीहरूमध्ये एउटैले पनि आफ्नो जीवन जोगाइराख्न सक्दैनन्। 14 " ‘तिनीहरूले तुरही फुकेका छन्; तिनीहरूले सबै कुरा तयार गरेर राखेका छन्, तर कोही पनि लडाइँमा जानेछैनन्; किनकि मेरो क्रोध सम्पूर्ण भीडमाथि नै परेको छ। 15 बाहिर तरवार छ; भित्र रूढी र अनिकाल छन्। गाउँमा भएकाहरू तरवारद्वारा मर्नेछन्; सहरभित्र हुनेहरू रूढी र अनिकालले मर्नेछन्। 16 बाँचेका र उम्केकाहरू पहाडहरूतिर भाग्नेछन्। बेँसीका ढुकुरहरूझैँ, तिनीहरू सबैले आ-आफ्ना पापका निम्ति विलाप गर्दै रहनेछन्। 17 हरेकका हात डरले शिथिल हुनेछन्; हरेकका खुट्टा पिसाबले भिज्नेछन्! 18 तिनीहरूले भाङ्ग्रा लगाउनेछन्, र तिनीहरूले त्रासको लुगा पहिरनेछन्। तिनीहरू सबैका अनुहार शर्मले ढाकिनेछन्; अनि तिनीहरू सबैका कपाल खौराइनेछन्। 19 " ‘तिनीहरूले आफ्ना चाँदी सडकहरूमा फ्याँकिदिनेछन्, र तिनीहरूका सुन अशुद्ध कुरो हुनेछ। याहवेहको क्रोधको दिनमा तिनीहरूका सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन। सुनचाँदीले तिनीहरूका भोक मेटाउनेछैन अथवा तिनीहरूको पेट भर्नेछैन; किनकि सुनचाँदी नै तिनीहरूका पापको निम्ति ठक्करको कारण बनेको थियो। 20 तिनीहरूले आफ्ना सुन्दर गहनामा घमण्ड गरे, र त्यसलाई तिनीहरूका घृणित मूर्तिहरू बनाउन प्रयोग गरे। तिनीहरूले अशुद्ध आकृतिहरू बनाउनमा प्रयोग गरे; यसकारण म ती कुराहरूलाई तिनीहरूका निम्ति अशुद्ध बनाइदिनेछु। 21 म तिनीहरूका धनसम्पत्ति विदेशीहरूलाई लुटको सामानझैँ दिनेछु, पृथ्वीका सबैभन्दा दुष्टका हातमा दिनेछु, उनीहरूले ती धनसम्पत्तिलाई अपवित्र पार्नेछन्। 22 म आफ्नो अनुहार मानिसहरूदेखि फर्काउनेछु, र डाँकुहरूले मेरो बहुमूल्य ठाउँलाई अशुद्ध पारिदिनेछन्। डाँकुहरू यरूशलेमको भवनभित्र पस्नेछन्, र त्यसलाई अशुद्ध पारिदिनेछन्। 23 " ‘साङ्लाहरू तयार गर्! किनकि देश रक्तपातले भरिएको छ, र सहर हिंसाले भरिएको छ। 24 जातिहरूमध्ये सबैभन्दा दुष्ट मानिसहरूलाई म इस्राएलीहरूका घरहरू कब्जा गर्नलाई ल्याउनेछु। म तिनीहरूका बलिया योद्धाहरूका घमण्डको अन्त्य गरिदिनेछु; अनि तिनीहरूका पवित्र ठाउँहरू अशुद्ध पारिनेछन्। 25 जब तिनीहरू त्रसित हुनेछन्, तब तिनीहरूले व्यर्थमा शान्ति खोज्नेछन्, तर सुरक्षित ठाउँ कहीँ पनि पाउनेछैनन्। 26 विपत्तिमाथि विपत्ति आउनेछ; अनि हल्लामाथि हल्ला आउनेछ। तिनीहरू अगमवक्ताबाट दर्शनको खोज गर्नेछन्; तर पुजारीबाट शिक्षा लोप भइजानेछन्, र प्रधानहरूका परामर्शको पनि अन्त्य हुनेछ। 27 राजाले शोक गर्नेछन्, राजकुमारलाई निराशाले ढाक्नेछ, र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्। म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु, र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु। " ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।’ “
