Menu

एस्तर 7

NCB

1 तब राजा र हामान रानी एस्तरको भोजमा गए; 2 अनि दोस्रो दिन, तिनीहरूले दाखमद्य पिउँदै राजाले फेरि सोधे, “रानी एस्तर, अब भन, तिम्रो बिन्ती के हो? मलाई भन, त्यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? राज्यको आधा भाग मागे तापनि त्यो दिइनेछ।" 3 तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्‍त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्‍ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो। 4 किनकि म र मेरा जातिहरू सर्वनाश गरिन, हत्या गरिन र मृत्युको लागि बेचिएका छौँ। यदि हामी दास-दासीझैँ बेचिएका मात्र भए, म चुप लाग्नेथिएँ; किनभने यस्तो सानो कुराको लागि महाराजालाई दुःख दिनु उचित हुनेथिएन।" 5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?" 6 एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्‍ट हामान हो!” यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए। 7 तब राजा रिसले चुर भएर उठे, र आफ्नो दाखमद्य त्यहीँ छोडेर राजमहलको बगैँचामा गए। तर हामानचाहिँ राजाले तिनको निम्ति दण्डको निर्णय गरिसकेका छन् भनी सोचेर एस्तर रानीसित आफ्नो प्राणको भीख माग्न भनी भित्रै बसे। 8 राजा राजमहलको बगैँचाबाट भोज गर्ने हलमा फर्केर आए; हामानचाहिँ एस्तर रानीले आराम गर्ने पलङको छेउमा निहुरिरहेका थिए। तब राजा यसरी चिच्याए, “के यस मानिसले यहाँ मेरै सामु रानीलाई दुर्व्यवहार गर्ने आँट गरेको हो?” राजाको मुखबाट यो कुरा निस्कनसाथ, तिनीहरूले हामानको मुख छोपिदिए। 9 तब राजाका सेवक नपुंसकहरूमध्येका एक जना हर्बोनाले भन्यो, “राजालाई सहायता गर्न बोल्ने मोर्दकैका निम्ति हामानले तयार पारेको पचास क्यूबिट अग्लो फाँसी दिने काठ त्यसको घरकै छेउमा खडा छ।” राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याइदेओ!" 10 यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो।

Everything we make is available for free because of a generous community of supporters.

Donate