Menu

व्यवस्था 34

NCB

1 तब मोशा मोआबको मैदानबाट यरीहोको वारिपट्टि भएको नेबो पर्वतको पिसगाको टाकुरामा उक्ले। त्यहाँ याहवेहले तिनलाई सम्पूर्ण देश, अर्थात् गिलाददेखि दानसम्म, 2 नप्‍ताली, मनश्शे र एफ्राइमको समस्त प्रान्त, र पश्‍चिमी भूमध्य सागरसम्म यहूदाको सबै प्रदेश, 3 दक्षिणतिर र यरीहोको क्षेत्रदेखिको समस्त इलाका र सोअरसम्मका खजूरका सहरहरूसमेत देखाउनुभयो। 4 तब याहवेहले तिनलाई भन्‍नुभयो, “यही देश, तेरो भावी सन्तानलाई दिनेछु भनी मैले अब्राहाम, इसहाक र याकोबलाई शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। मैले तँलाई आफ्नै आँखाले यो हेर्न दिएँ; तर तँ त्यहाँ पार गरेर जानेछैनस्।" 5 याहवेहको वचनअनुसार मोआबको त्यही देशमा याहवेहका सेवक मोशाको मृत्यु भयो। 6 याहवेहले तिनलाई बेथ-पोरको पारिपट्टिको क्षेत्रमा गाड्नुभयो; तर आजको दिनसम्म तिनको चिहान कहाँ छ भनी कसैले जान्दैनन्। 7 जब मोशाको मृत्यु भयो, तब तिनी एक सय बीस वर्ष पुगेका थिए। तर तिनको आँखाको ज्योति कमजोर भएको थिएन, न त तिनको बल नै घटेको थियो। 8 इस्राएलीहरूले मोशाको निम्ति मोआबको मैदानमा रुने र विलाप गर्ने समय अन्त्य नभएसम्म तीस दिनसम्म शोक गरे। 9 अब नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिपूर्ण थिए। किनभने मोशाले तिनीमाथि आफ्ना हात राखेका थिए। यसकारण इस्राएलीहरूले यहोशूका कुरा सुने। अनि याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे। 10 त्यस समयदेखि इस्राएलमा मोशाजस्तो अर्को कुनै अगमवक्ता खडा भएको छैन, जसलाई याहवेहले आमने-सामने गरी जान्‍नुहुन्थ्यो। 11 मोशा, जसलाई याहवेहले इजिप्टमा अर्थात् फारो र उनका सबै अधिकारीहरू र उनको समस्त देशमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनलाई पठाउनुभयो, र तिनले ती सबै गरे। 12 किनकि इस्राएलको दृष्‍टिमा मोशाले देखाएका महान् शक्ति र गरेका भयानक कामहरू कहिल्यै कसैले गर्न सकेका छैनन्।

Everything we make is available for free because of a generous community of supporters.

Donate