Menu

व्यवस्था 23

NCB

1 गुप्‍त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन। 2 निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन। 3 कुनै अम्मोनी र मोआबी अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैनन्। 4 किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्‍ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए। 5 तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन। तर त्यस सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। 6 तिमीहरूले आजीवन अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नगर्नू। 7 एदोमीहरूलाई घृणा नगर; किनकि तिनीहरू तिमीहरूका दाजुभाइहरू हुन्। इजिप्टियनहरूलाई घृणा नगर; किनकि तिमीहरू तिनीहरूको देशमा परदेशी भएर बास गरेका थियौ। 8 एदोमी र इजिप्टियनहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू याहवेहको सभामा पस्‍न पाउनेछन्। 9 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा छाउनी हालेर बस्छौ, तब हरेक अशुद्ध कुराबाट अलग रहनू। 10 यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्। 11 तर साँझपख त्यसले नुहाओस्; अनि घाम अस्ताएपछि त्यो मानिस छाउनीभित्र पस्‍न पाउनेछ। 12 तिमीहरूले छाउनीबाहिर दिसा-पिसाब गर्ने एउटा ठाउँ बनाओ। 13 तिमीहरूसँग खन्‍ने औजार पनि रहोस्। अनि दिसा गरिसकेपछि तिमीहरूले त्यस औजारले खाल्डो खनेर दिसालाई पुरिदिनू। 14 किनकि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूलाई रक्षा गर्न र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा सुम्पिदिनका लागि तिमीहरूका छाउनीको चारैतिर हिँड्‍डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ; ताकि उहाँले तिमीहरूमा कुनै घिनलाग्दो कुरा देख्न नपरोस् र तिमीहरूबाट टाढा जान नपरोस्। 15 यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू। 16 त्यसले रुचाएको जुनसुकै ठाउँ वा त्यसले छानेको जुनसुकै सहरमा त्यसलाई तिमीहरूसँग बस्‍न देओ। त्यसलाई शोषण नगर्नू। 17 इस्राएलका कुनै पनि पुरुष अथवा स्त्री देवस्थानमा देवदास वा देवदासी नबनून्। 18 तिमीहरूले कुनै भाकल पूरा गर्न देवदासी अथवा देवदासको कमाइलाई याहवेह तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले ती दुवैलाई घृणा गर्नुहुन्छ। 19 तिमीहरूले इस्राएली दाजुभाइबाट रकम अथवा भोजन, ब्याज वा कमाउन मिल्ने कुनै पनि कुराबाट ब्याज नलिनू। 20 तिमीहरूले विदेशीबाट ब्याज लिन सक्छौ, तर आफ्नो इस्राएली दाजुभाइबाट नलिनू। तिमीहरूले अधिकार गर्न गइरहेको देशमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ। 21 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरसँग केही भाकल गर्‍यौ भने त्यो भाकल पूरा गर्न ढिलो नगर। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट निश्‍चय नै माग गर्नुहुनेछ; र तिमीहरू पापको दोषी हुनेछौ। 22 तर भाकल गरेकै छैनौ भने तिमीहरूलाई पापको दोष लाग्नेछैन। 23 तिमीहरूका मुखले जे कुरा भाकल गरेका छन्, ती तिमीहरूले अवश्य पूरा गर्नुपर्छ। किनकि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति यो राजीखुशीले गरेका हौ। 24 यदि तिमीहरू आफ्ना दाजुभाइको दाखबारीमा पस्यौ भने तिमीहरूले चाहेजति पेटभरि अङ्‌गुर खान सक्छौ। तर तिमीहरूले आफ्नो डालोमा एउटै पनि नहाल्नू। 25 यदि तिमीहरूको छिमेकीको अन्‍नको खेतमा तिमीहरू पस्यौ भने तिमीहरूले आफ्ना हातले बाला टिप्न सक्छौ। तर तिमीहरूले पाकेको बालीमा हँसिया लगाएर अन्‍न काट्नुहुँदैन।

Everything we make is available for free because of a generous community of supporters.

Donate