आमोस 4
NCB1 हे सामरिया पर्वतमाथि बस्ने बाशानका गाईहरू हो, यो वचन सुन! हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ; अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!" 2 प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ: “अवश्य नै समय आउनेछ, जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ, र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ। 3 तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट सीधै बाहिर निस्कनेछौ। तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” याहवेह घोषणा गर्नुहुन्छ। 4 “बेथेलमा जाओ र पाप गर; गिलगालमा जाओ र अझ बढी पाप गर। हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ! हरेक तीन वर्षमा तिमीहरूका दशांश भेटी पनि ल्याओ। 5 खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ, र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ; अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर; किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 6 “मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ, र हरेक नगरमा रोटीको अभाव गरिदिएँ; तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ। 7 “फसलको समय अझै तीन महिना बाँकी रहँदै मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाएँ, तर अर्को सहरमा रोकिदिएँ। एउटा खेतमा पानी पर्यो; तर अर्को खेतमाथि परेन, त्यो सुक्यो। 8 मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे, तर प्रशस्त पिउनलाई पानी पाएनन्, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ। 9 “धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ; मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ। सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ। 10 “मैले इजिप्टमा पठाएझैँ तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ। मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ। 11 “मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु। तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ। 12 “यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु; किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले, तिमीहरू आफ्ना परमेश्वरलाई भेट्न तयार होओ।" 13 जसले पर्वतहरू बनाउनुहुन्छ, जसले बतासलाई सृजना गर्नुहुन्छ; अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ; उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ, र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ; उहाँको नाम याहवेह सेनाहरूका परमेश्वर हो।
