आमोस 2
NCB1 याहवेह यसो भन्नुहुन्छ: “मोआबका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले एदोमको राजाका हड्डीहरू जलाएर खरानी पारिदियो; 2 म मोआबमाथि आगो पठाउनेछु, जसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ। मोआबको पतन ठूलो होहल्लाका साथ युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ। 3 म त्यसको शासकलाई नाश गर्नेछु, र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,” याहवेह भन्नुहुन्छ। 4 याहवेह यसो भन्नुहुन्छ: “यहूदाका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्, र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्; किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्, जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए, 5 म यहूदामाथि आगो पठाउनेछु; त्यसले यरूशलेमका किल्लाहरू भस्म पार्नेछ।" 6 याहवेह यसो भन्नुहुन्छ: “इस्राएलका तीन वटा पापहरूका कारण, अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले निर्दोषलाई चाँदीमा, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्। 7 तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ गरिबका टाउकोमाथि कुल्चन्छन्; अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्; अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्। 8 तिनीहरू हरेक वेदीको छेउमा बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्। तिनीहरू आफ्ना देवताको मन्दिरमा जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्। 9 “मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ, तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो, र फलाँटको रूखजस्तै बलियो थियो। मैले ती रूखहरूमाथि रहेका फलहरू, र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ। 10 तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ; अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्याएँ।" 11 मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ। “हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?” याहवेह घोषणा गर्नुहुन्छ। 12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ, र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ। 13 “त्यसैले अब म अन्नले लादिएको गाडाले किचेझैँ तिमीहरूलाई जमिनमा किचिदिनेछु। 14 वेगसित दगुर्ने पनि उम्कनेछैन; बलवान्हरूको बल पनि काम लाग्नेछैन, र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्। 15 धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन; र अति वेगसित दौडने सिपाही उम्कनेछैन; अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन। 16 बहादुर योद्धाहरू नै भए तापनि त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
